इङ्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ । सिटीले बर्नलीलाई ५-१ गोलअन्तरले हराएको छ ।
सिटीलाई घरेलु मैदानमा जित दिलाउन एर्लिङ हालन्डले २ गोल गर्दा बर्नलीका म्याक्सिम इस्टिभले २ गोल उपहार दिए । खेलको १२औं मिनेटमा म्याक्सिम इस्टिभले आत्मघाती गोल गरे ।
सिटीले यही गोलमा सुरूवातमा अग्रता बनायो । तर ३८ औं मिनेटमा बर्नलीले बराबरी गोल फर्काउन सफल रह्यो । जेडन एनथोनीले गोल गरे । पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो ।
दोस्रो हाफ सिटीको लागि सुखद रहयो। म्याथ्युज न्युन्सको गोलमा सिटीले २-१ को अग्रता बनायो । ६५ औं मिनेटमा म्याक्सिम फेरि आत्मघाती गोल गर्न पुगे । खेलमा सिटीले ३-१ को स्पष्ट अग्रता बनायो ।
सिटी यतिमा मात्र रोकिएन् । हालान्डले ९० औं र इन्ज्युरी समयको तेस्रो मिनेटमा दुई गोल गरे । यो सँगै सिटी ५-१ को फराकिलो अन्तरको जित दर्ज गर्न सफल रह्यो ।
गत अगस्टमा लगातारको हारमा आलोचित बनेको सिटी अहिले लयमा फर्किएको छ । ६ खेलमा ३ जित, १ हार र २ बराबरी नतिजमा सिटी १० अंक सहित लिगको चौथो स्थानमा रहेको छ । पराजित बर्नलीको यो चौथो हार हो । मात्र ४ अंक सहित लिगको १७ औं स्थानमा रहेको छ ।
त्यसअघि लिडर लिभरपुलले इपिएलको जारी सिजनमा पहिलो हार भोगेको छ । क्रिस्टल प्यालेसले आज लिभरपुललाई २-१ गोल अन्तरले हरायो ।
इस्माएला सारले नवौं मिनेटमा क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाए । यो गोलमा क्रिस्टल प्यालेसले पहिलो हाफमा १-० को अग्रता बनायो ।
खेलमा फर्कन आतुर लिभरपुलले खेल सकिन ३ मिनेटमा बाकी छँदा बराबरी गोल फर्कायो। फेड्रिको चिइसाले गोल गरे । खेल १-१ गोलको बराबरीमा पुग्यो । खेल बराबरीमा सकिने संकेत देखियो ।
तर इन्ज्युरी समयको सातौं मिनेटमा इड्डी एनकेडियाले गोल गरे । यो सँगै क्रिस्टल प्यालेसले लिभरपुल विरूद्ध २-१ को जित हात पार्यो ।
लिभरपुलको यो पहिलो हार हो । ६ खेलबाट ५ जित र एक हारको नतिजामा लिभरपुल लिगको शीर्षस्थानमा नै रहेको छ । ६ खेल खेलेको क्रिस्टल प्यालेसको यो तेस्रो जित हो । उसले ३ खेल बराबरीमा सकाएको छ । १२ अंक सहित क्रिस्टल प्यालेस लिगको दोस्रो स्थानमा रहेको छ ।
आजै ब्रेन्टफोर्डले म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको छ ।
