धनकुटा । धनकुटामा जारी १८औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धनकुटा फाइनलमा प्रवेश गरेको छ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुंडिखेलमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सिराहाको सलहेश फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै धनकुटा उपाधि नजिक पुगेको हो ।
धनकुटाका लागि खेलको पहिलो हाफको नवौँ मिनेटमा अमित बेस्राले निर्णायक गोल गरे । बेस्राले गरेको एकमात्र गोल नै टोलीलाई फाइनल पुर्याउन पर्याप्त बन्यो ।
खेलभर उत्कृष्ट प्रदर्शन गरेका धनकुटाका विवेक गुरुङ म्यान अफ द म्याच घोषित भए । उनलाई प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री निरनकुमार राईले नगद ६ हजार ५ रुपैयाँसहित ट्रफी प्रदान गरे ।
प्रतियोगिताअन्तर्गत शुक्रवारको दोस्रो सेमिफाइनल खेल झापाको विर्तामोड युनाइटेड र मोरङको बेलबारी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
