काठमाडौँ । नेपाल आर्मीका जयस्नु महर्जन र नेपाल प्रहरीकी प्राज्ना महर्जनले ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिप अन्तर्गत जुनियर यु–१९ सिंगल्सतर्फ स्वर्ण पदक जित्न सफल भएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनल खेलमा आ-आफ्नो विधामा जित निकाल्दै ब्वाइजतर्फ जयस्नु र गर्ल्सतर्फ प्राज्नाले स्वर्ण जितेका हुन् ।
जुनियर यु–१९ सिंगल्स: जयस्नु र प्राज्नाको सहज जित
ब्वाइजतर्फको रोमान्चक फाइनल भिडन्तमा आर्मीका जयस्नु महर्जनले बागमती प्रदेशका रिजन शाक्यलाई सीधा सेटमा ११–७, ११–२ र ११–८ ले पराजित गर्दै स्वर्ण पदक आफ्नो नाम गरे। यस विधामा गण्डकी प्रदेशका समिर खत्री तथा एपीएफका निश्चल थापा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए ।
त्यस्तै, गर्ल्सतर्फको उपाधि भिडन्तमा प्रहरीकी प्राज्ना महर्जनले एपीएफकी क्यारिना सुवालमाथि ११–३, ११–५ र ११–८ को सहज जित दर्ता गरिन् । खेलमा कोशी प्रदेशकी सुलेखा ठाकुर र आर्मीकी सुरम्य शाक्य तेस्रो भए ।
टिम इभेन्ट: पुरुष र महिला दुवैमा प्रहरी च्याम्पियन
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा जारी यस प्रतियोगिताको पुरुष र महिला दुवै टिम इभेन्टमा नेपाल प्रहरीको टोली पहिलो हुन सफल भएको छ ।
- पुरुष टिम इभेन्ट: फाइनल खेलमा प्रहरीले बागमती प्रदेशलाई ३–१ को सेटमा पाखा लगाउँदै स्वर्ण जित्यो । प्रहरीको विजेता टोलीमा संयोग कपाली, एलेक्स महर्जन र गनञ्जय दाहाल सामेल थिए । प्रतियोगितामा एपीएफ र कोशी प्रदेश तेस्रो स्थानमा रहे ।
- महिला टिम इभेन्ट: महिलातकी फाइनलमा पनि प्रहरीले कोशी प्रदेशलाई ३–१ ले पन्छायो। प्रहरीको तर्फबाट नविता श्रेष्ठ, सुस्मिता खड्का र रविना महर्जनले कोर्टमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
६ स्पर्धाको फाइनल सम्पन्न
प्रतियोगितामा हालसम्म ६ वटा स्पर्धाको फाइनल खेलहरू सम्पन्न भइसकेका छन् । यसअघि खेलिएको क्याडेट यु–१५ अन्तर्गत सिंगल्सको ब्वाइजतर्फ एपीएफका निश्चल थापा र गर्ल्सतर्फ नेपाल आर्मीकी सुरम्य शाक्यले स्वर्ण पदक जितिसकेका छन् ।
