काठमाडौं । काठमाडौं १६औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ समावेश प्रतियोगितामा काठमाडौंले ४० स्वर्ण, ८ रजत र १० कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगितामा ८ स्वर्ण, ११ रजत र ११ कांस्यसाथ ललितपुर दोश्रो भयो । तेश्रो स्थानको धादिङले ६ स्वर्ण, ३ रजत र ११ कांस्य हात पार्यो ।
एथलेटिक्स: काठमाडौं टिम च्याम्पियन
एथलेटिक्समा काठमाडौं टिम च्याम्पियन बन्यो । २६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा काठमाडौंले सर्वाधिक २० स्वर्ण जित्यो । काठमाडौंले थप ३ रजत र ५ कांस्य पनि हात पार्यो ।
काठमाडौंको २० स्वर्णमा १८ स्वर्ण मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीमा अध्ययनरत छात्र-छात्राले जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा २ स्वर्ण, ८ रजत र ६ कांस्यसाथ चितवन दोश्रो भयो ।
तेश्रो स्थानको धादिङले २ स्वर्ण र ३ रजत प्राप्त गर्यो । मकवानपुर र दोलखाले समान १–१ स्वर्ण जिते । छात्रमा काठमाडौंका निरज शाह तथा छात्रामा अनिशा थारु उत्कृष्ट खेलाडी घोषित भए । अनिशाले ५ स्वर्ण तथा निरजले ४ स्वर्ण जिते ।
दुवै लालीगुराँस नेसनल एकेडेमीका विद्यार्थी हुन् । अनिशाले त्रिपलजम्प तथा लालीगुराँसकै अविनाश सुनारले छात्र हाइजम्पमा जुनियर राष्ट्रिय कीर्तिमान कायम गरे । भ्लिबलको छात्र-छात्रा दुवैमा काठमाडौंले उपाधि जित्यो । छात्रमा विजय भण्डारी तथा छात्रामा सारिका कार्की उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुको प्रतिस्पर्धा भएको थियो ।
