आयोजक अमेरिका कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिँदा उरुग्वे र पानामा अन्तिम आठमा प्रवेश गरेका छन् ।
मंगलबार बिहान भएको निर्णायक खेलमा उरुग्वेसँग १-० ले पराजित भएपछि अमेरिका समूह ‘सी’ बाट अगाडि बढ्न सकेन । उरुग्वेको जितमा म्याथिस ओलिभेराले ६६औं मिनेटमा गोल गरेका थिए ।

अर्को खेलमा बोलिभियालाई ३-१ ले हराउँदै पानामा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो ।

समूहमा उरुग्वेले सत प्रतिशत जित निकालेको छ । टोलीले तीन खेलबाट ९ अंक जोड्यो । पानामाको ६ अंक रहेको छ । तीन अंकको अमेरिका र खाता खोल्न नसकेको बोलिभिया बाहिरिएका छन् ।
यो खेलसँगै क्वार्टरफाइनलमा पुग्ने ६ टोलीको टुंगो लागेको छ । बुधबार हुने समूह ‘डी’ को खेलबाट थप दुई टोली पक्का हुनेछन् । कोलम्बिया र ब्राजिलको सम्भावना उच्च छ ।
उरुग्वे र पानामासँगै भेनेजुएला र इक्वेडर तथा क्यानाडा र साविक विजेता अर्जेन्टिना अन्तिम आठमा पुगिसकेका छन् ।
