विराटनगरमा जारी एशियन पेन्ट्स यु-१८ अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो दिन शनिबार चार खेल सम्पन्न भएका छन् ।
दिनको पहिलो खेलमा विराटनगरको विकेभिएम स्कुलले विराटनगरकै मोर्डनएरा स्कुललाई ३–२ गोलअन्तरले हरायो । प्रतिस्पर्धात्मक खेलमा विकेभिएमका लागि जेनिस लामिछाने, समिर खड्का र रोजन पाण्डेले एक–एक गोल गरे । यस्तै, मोर्डन एराका लागि रिजन थारु र रोसिक राईले एक–एक गोल गरे ।
त्यस्रै, दिनको दोस्रो खेलमा विराटनगरको कान्तिपुर स्कुलले विराटनगरकै पोखरिया स्कुललाई ३–० गोलअन्तरले पराजित गर्यो । कान्तिपुरको जितमा प्रज्वलसिंह ठकुरी, राजन मण्डल र सुमन राजवंशीले एक–एक गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
दिनको तेस्रो खेलमा सलकपुरको ब्राइट फ्युचर स्कुलले उर्लाबारीको भृकुटी स्कुललाई ५–० गोलको फराकिलो अन्तरले हरायो । ब्राइट फ्युचरको जितमा सुसन दर्जी, मिहिर मोक्तान, जेनिस भट्टराई, बिनस परियार र कृष्ण निरौलाले एक–एक गोल गरे
त्यस्तै, दिनको चौथो तथा अन्तिम खेलमा रतुवामाईको राष्ट्र निर्माण स्कुलले पथरीको वाल्मीकि स्कुललाई ३–० गोल अन्तरले पाखा लगायो । राष्ट्र निर्माणलाई जित दिलाउन प्रविन थापाले दुई तथा गौरव कार्कीले एक गोल गरे ।
एसियन पेन्ट्सको आयोजनामा जारी प्रतियोगितामा कुल २२ विधालयको सहभागीता रहेको छ । प्रतियोगिताको फाईनल खेल भाद्र ३० गते हुने आयोजकले जनाएको छ ।
