विराटनगर । विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिप अन्तरविद्यालय यू–१८ फुटबल प्रतियोगिताको दोस्रो दिन शुक्रबार चार खेल सम्पन्न भएका छन् ।

दिनको पहिलो खेलमा विराटनगरको ग्रिनल्यान्ड स्कुलले विराटनगरकै मार्टर्स मेमोरियल स्कुललाई १–० ले पराजित गर्यो । ग्रिनल्यान्डको जितमा सिद्धान्त सिटौलाले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

त्यस्तै, दोस्रो खेलमा उर्लाबारीको सुनगाभा स्कुलले विराटनगरको आदर्श स्कुललाई पेनाल्टी सुटआउटमा ५–३ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

तेस्रो खेलमा झोराहाटको जनक मेमोरियल स्कुलले हरैँचाको हरैँचा मोडल स्कुललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अर्को चरणमा स्थान सुरक्षित गर्‍यो । निर्धारित समयको खेल ४-४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

दिनको अन्तिम खेलमा विराटनगरको मोर्डनएरा स्कुलले विराटनगरकै सेन्ट जोसेफ स्कुललाई ३–० ले हराउँदै अघिल्लो चरणमा प्रवेश गर्‍यो । मोर्डन एराको जितमा रोसिक राई, समिप आले मगर र रिजन राईले समान एक–एक गोल गरे ।

प्रतियोगिताअन्तर्गत शनिबार पनि चार खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल २२ विद्यालयका टोलीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *