काठमाडौँ । अग्रवाल युवा मञ्चको आयोजनामा भएको तीन दिने खेल महोत्सव अन्तर्गत क्रिकेट तर्फको उपाधि उपाधि एल्फु च्यार्जर्सले जितेको छ ।
विशालनगरस्थिक धन्वन्तरी इन्डोर हलमा भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा टिप टप राइडर्सलाई ४३ रनको फराकिलो अन्तरले पराजित गर्दै एल्फु च्यार्जर्स च्याम्पियन बनेको हो ।
टस जितेर टिप टप राइडर्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एल्फु च्यार्जर्सले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ९० रनको मजबुत योगफल खडा गरेको थियो । टोलीका लागि नितिन काग्लिवालाले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा सर्वाधिक २८ रन बनाए भने विकेटकिपर नितिन अग्रवालले १३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै अविजित २४ रन जोडे । त्यस्तै शिवम तिवारीले १५ रन, मानव अग्रवालले ६ रन र पियुष अग्रवालले अविजित ७ रनको योगदान दिए। टिप टप राइडर्सका रवि अग्रवालले ३ विकेट तथा राहुल र सुमित शर्माले १-१ विकेट लिए ।
९१ रनको विजयी लक्ष्य पछ्याएको टिप टप राइडर्स एल्फु च्यार्जर्सको घातक बलिङसामु ७.४ ओभरमा मात्र ४७ रनमा समेटियो ।
यसअघि पहिलो सेमिफाइनलमा टिप टप राइडर्सले साबित्री कञ्चनजङ्घा काठमाडौँ नाइट्सलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। पहिले ब्याटिङ गरेको काठमाडौँ नाइट्सले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ८१ रन (त्रिभुवन बङ २२, प्रकाश मुन्द्रा २२, पवन लखोटिया २०) बनाएको थियो। जबाफमा टिप टप राइडर्सले आक्रामक ब्याटिङ गर्दै मात्र ५.५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको थियो।
दोस्रो सेमिफाइनलमा एल्फु च्यार्जर्सले द टर्फ वारियर्सलाई ५ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो। पहिले ब्याटिङ गरेको द टर्फ वारियर्सले हेमाङ्ग जैनको अविजित ४२ रनको मद्दतमा ५ विकेट गुमाउँदै ७१ रन जोडेको थियो। ७२ रनको लक्ष्य एल्फु च्यार्जर्सले ९.५ ओभरमा ५ विकेट गुमाएर रोमाञ्चक रूपमा प्राप्त गर्यो।
लिग चरणका खेलहरूमा पनि टोलीहरूबिच कडा प्रतिस्पर्धा भएको थियो। दिनको पहिलो लिग खेलमा अल्फा वारियर्सले फोनिक्स ११ (काठमाडौँ रोयल्स) लाई १५ रनले पराजित गर्यो। अल्फा वारियर्सले पहिले ब्याटिङ गर्दै जतिनको अविजित २३ रन र चैतन्य अग्रवालको १९ रनको मद्दतमा ९ ओभरमा निर्धारित योगफल बनाएको थियो। जबाफमा फोनिक्स ११ लक्ष्य भन्दा १५ रनले पछि परेको थियो।
दोस्रो लिग खेलमा एल्फु च्यार्जर्सले माइटी लायन्सलाई ८ विकेटको सहज जित निकाल्यो। माइटी लायन्सलाई १० ओभरमा ४७ रनमा सीमित गरेपछि एल्फु च्यार्जर्सले ४.४ ओभरमै २ विकेट गुमाएर लक्ष्य भेट्टायो।
तेस्रो लिग खेलमा साबित्री कञ्चनजङ्घा काठमाडौँ नाइट्सले स्पार्टन्सलाई १७ रनले हरायो। पहिले ब्याटिङ गर्दै काठमाडौँ नाइट्सले ७ विकेट गुमाएर ८५ रन (त्रिभुवन बङ २४, पवन लखोटिया १७) बनाएको थियो। जबाफमा ८६ रनको लक्ष्य पछ्याएको स्पार्टन्स ९.२ ओभरमा ६८ रनमै समेटियो।
चौथो लिग खेलमा द टर्फ वारियर्सले गरुडालाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्यो। संस्कार गोयलको अविजित ४० रन र पंकज राठीको ३६ रनको मद्दतमा द टर्फ वारियर्सले २ विकेट गुमाएर १२० रनको विशाल योगफल बनाएको थियो। जबाफमा गरुडा १० ओभरमा ६१ रनमा सीमित भएको थियो। प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
