स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो ।
जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
३५औं मिनेटमा उनले नै अग्रता दोब्बर बनाए । रोड्रीको सुन्दर क्रसमा हेडर मार्फत गोल गर्दै हालान्डले सिटीलाई दुई गोलको अग्रता दिलाए । यस्तै पहिलो हाफको अन्त्यतिर नेल्सन सेमेडोले गरेको फाउल पछि पाएको पेनाल्टीमा पुनः गोल गर्दै हालान्डले ह्याट्रिक पूरा गरे ।
५३औं मिनेटमा ह्वांग हि-चानले वल्भसका लागि एक गोल फर्काए । तर त्यस गोलले सिटीलाई थप गोल गर्नबाट रोक्न सकेन ।
५४औं मिनेटमा फिल फोडेनको पासमा हालान्डले व्यक्तिगत चौथो गोल गरे । ८५औं मिनेटमा जुलियन अल्भारेजले सिटीको पाँचौं गोल गरे ।
जित सँगै ३५ खेलमा ८२ अंक भएको सिटी दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको र एक खेल बढी खेलेको आर्सनलको ८३ अंक छ । बाँकी रहेको सबै खेलमा जित हासिल गर्ने हो भने सिटीले लगातार चौथो पटक लिग उपाधि उचाल्ने छ ।
