साउदी प्रो लिग फुटबलमा अल नासरले ३०औं साताको खेलमा फराकिलो जित निकालेको छ ।
शनिबार मध्यराति भएको खेलमा नासरले आफ्नो घरेलु मैदानमा पाहुना टोली अल वेहदामाथि ६-० को फराकिलो जित निकाल्यो ।
यो जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरे । यसपटक उनले बिनापेनाल्टी नै ३ गोल गरेर आफ्नो ६६औं ह्याट्रिक दर्ता गरेका हुन् ।
अल नासरले पाँचौं मिनेटमा कप्तान रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । दोस्रो गोल १२औं मिनेटमा रोनाल्डो आफैंले गरे । उनको सो गोलमा मार्सेलो ब्रोजोभिचले पास मिलाएका थिए । १८औं मिनेटमै अल नासरले तेस्रो गोल हान्यो। यसपटक ओटाभियोले दर्शनी गोल गरे । उनको गोलमा साडियो मोनले पास मिलाएका थिए । त्यसपछि ४५औं मिनेटमा माने आफैंले गारे भने उनको गोलमा ओटाभियोले पास मिलाएका थिए ।
दोस्रो हाफ सुरु भएको ५२औं मिनेटमा रोनाल्डोले अर्को दर्शनीय गोल गर्दै आफ्नो ह्याट्रिक गोल पूरा गरे । उनको ह्याट्रिक गोलमा मानेले पास मिलाएका थिए । ८८औं मिनेटमा मोहमेद अल फातिलले अर्को गोल थपेपछि अल नासर ६-० ले विजयी भयो ।
जितसँगै अल नासरको ३० खेलम ७४ अंक जोडेको छ । एक खेल कम खेलेको शीर्ष अल हिलालभन्दा अल नासर ९ अंकले पछि नै छ ।
