कुशुमे साईनिङ क्लब, केराबारी, मोरङ प्रथम तालतलैया गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा डाँगीहाट फुटबल क्लब, मोरङलाई ३-२ को गोलअन्तरले पराजित गर्दै कुशुमे सेमिफाइनलमा प्रवेश गरेको हो ।
कुशुमेको जितमा अमित बेस्राले दुई तथा सागर तिवारीले एक गोल गरे । डाँगीहाटका लागि अभिषेक बमजन र बिक्रम धिमालले समान एक-एक गोल गरे ।
खेलमा दुई गरेका कुशुमेका अमित बेस्रा म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा भोलि सोमबार तालतलैया फुटबल क्लब (रातो), मोरङ र सतिसाले फुटबल क्लब, मोरङबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ ।
तालतलैया फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी प्राप्त गर्नेछन् । फाइनल खेल भने असोज १० गते हुने आयोजकले जनाएको छ ।
