उपाधिको दाबेदार मध्येको एक नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरमा आयोजित ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबलाई ६-० को फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलम प्रवेश गरेको छ ।

पुलिसले क्वाटरफाइनलमा भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । दुई गोल मिना देउवा र एक गोल अनुष्का शेर्पाको नाममा रह्यो ।

खेलको पहिलो मिनेटमै रेखाले गोल गरिन् । डिबक्समा रहेकी रेखाले अर्की स्ट्राइकर मिनाको हेडरलाई सदुपयोग गर्दै गोल गर्न सफल भइन् ।

पुलिसको लागि दोस्रो गोल मिनाको नाममा रह्यो । रेखाले गरेको पावरफुल प्रहार चन्द्रगढीकी गोलकिपर सवनम राईले नियन्त्रणमा लिन नसकेपछि मिनाले त्यसलाई सुन्दर गोलमा परिणत गरिन् ।

खेलको २९ औँ मिनेटमा सम्झना लावतीको पासमा मिनाले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् । ३८ औँ मिनेटमा रेखाले मैदानको मध्यभागबाट सिंगल खेल्दै गोल गरिन् ।

पहिलो हाफको ४० मिनेट ४–० को स्कोर बनाएको पुलिसले बाँकी २ गोल दोस्रो हाफमा गर्यो।‌ ७२ औँ मिनेटमा सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले पुलिसका लागि अर्काे गोल थपिन् ।

रेखाको पासमा अनुष्कालेबार च्यापेर गरेको प्रहार गोल भयो । खेलको ७७ औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन् । मिनाको पासमा हेडमार्फत गोल गर्दै रेखाले जारी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराइन् ।

चन्द्रगढीले विपक्षीमाथि फितलो प्रदर्शन गरेको थियो । पहिलो हाफको अतिरिक्त समयमा पुलिसका गोल किपर उषा नाथको हातबाट फुत्किएको बललाई चन्द्रगढीकी खेलाडी रेखा बिष्टले पोष्टको दिशा दिन नसक्दा सान्त्वना गोल गर्ने अवसर खेर गएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता पुलिसकी रेखा पौडेल भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि मंगलबारको खेल एपिएफ फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । उपविजेताले ४ लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *