काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा हुने आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा ३ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबारदेखि सुरु हुने प्रतियोगितामा विभिन्न ४६ विद्यालयका २ सय ६ ब्वाइज र १ सय ५१ गल्र्स गरी ३ सय ५७ खेलाडीको सहभागिता निश्चित भएको आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले जनाएका छन् ।

आयोजकका अनुसार प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

ब्वाइज÷गल्र्सतर्फ टिम तथा यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिंगल्समा खेल हुनेछ । हरेक सिंगल्स स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ हजार, ३ हजार र १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहभागी हुने आरम्भका खेलाडीलाई मंगलबार सफलताको शुभकामना दिदै टिसर्ट पनि प्रदान गरिएको थियो ।

प्रतियोगितामा सर्वाधिक स्वर्ण जित्ने टिमलाई टिम च्याम्पियन घोषणा गरी रनिङ सिल्ड प्रदान गरिने छ । प्रतियोगिता असोज २ गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *