पेरिसस्थित घरमा म्यानचेस्टर सिटीका इटालियन अन्तर्राष्ट्रिय गोलकिपर जियानलुइगी डोनारुम्मा र उनकी गर्भवती प्रेमिका (हालकी श्रीमती) माथि भएको हिंस्रक लुटपाटमा संलग्न दुई जनालाई जेल सजाय सुनाइएको छ ।
लुटपाटको क्रममा डोनारुम्मालाई निर्दयी रूपमा कुटपिट गरिएको थियो भने उनकी तत्कालीन मंगेतर आलेसिया एलेफान्टेको घाँटीमा तारले कसेर निसासाउने प्रयास गरिएको थियो । पछि सोही घटनाको मानसिक तथा शारीरिक आघातका कारण उनको गर्भपतन भएको थियो ।
पेरिसको फौजदारी अदालतले चोरीका मुख्य योजनाकार २१ वर्षीय इल्यास खेरबुचलाई नौ वर्षको जेल सजाय र करिब ९३,००० अमेरिकी डलर जरिवानाको फैसला सुनाएको छ ।
त्यस्तै, अर्का प्रतिवादी मोक्टर डीलाई पाँच वर्षको जेल सजाय तोकिएको छ, जसमध्ये दुई वर्षको सजाय परिवीक्षा अवधिको सर्तमा स्थगित गरिएको छ । तेस्रो प्रतिवादी ख्यान एम, जसमाथि जेलभित्रै बसेर लुटपाटको योजना बनाएको आशंका गरिएको थियो, लाई भने अदालतले सफाइ दिएको छ ।
अदालतमा सुनुवाइका क्रममा दिइएको जानकारी अनुसार जुलाई २०२३ मा मध्य पेरिसको एभिन्यु मोन्टेनस्थित अपार्टमेन्टमा घटना हुँदा २७ वर्षीय डोनारुम्मा र उनकी प्रेमिका एलेफान्टेलाई बाँधेर चक्कु देखाई धम्क्याइएको थियो । घटनाको समयमा डोनारुम्मा पेरिस सेन्ट-जर्मेनबाट खेल्दथे भने उनी सन् २०२५ मा म्यानचेस्टर सिटीमा आबद्ध भएका हुन् ।
अभियोजकहरूले आरोपीहरूका लागि चारदेखि १० वर्षसम्मको जेल सजाय माग गरेका थिए । सबैभन्दा कडा सजाय (१० वर्ष) “गानीटो” उपनामले चिनिने खेरबुचका लागि माग गरिएको थियो, जो गत मार्चमा पेरिस नजिकैको भिलपिन्टेजेलबाट भागेका थिए । त्यस्तै ‘किकी’ उपनामका २२ वर्षीय ख्यान एमका लागि नौ वर्ष र मोक्टर डीका लागि ६ वर्षको सजाय माग गरिएको थियो ।
२१ जुलाई २०२३ को बिहानीपख छतको बाटो हुँदै नवौँ तल्लाको अपार्टमेन्टमा छिरेका चारजना मुखुण्डोधारीले उनीहरूलाई ओछ्यानबाटै बन्धक बनाएका थिए । डोनारुम्मालाई ‘नकल-ग्लभ्स’ले रगतपच्छे हुने गरी कुटपिट गर्दै पैसा र घडीको माग गरिएको थियो । सात जनाको उक्त समूहले केही मिनेटभित्रै करिब १० लाख युरो बराबरको नगद, गरगहना, घडी र महँगा झोलाहरू लिएर फरार भएको थियो ।
सरकारी वकिलका अनुसार एभिन्यु मोन्टेन क्षेत्र युवा अपराधीहरूको निसानामा पर्दै आएको छ । सन् २०२२ देखि २०२५ को बीचमा सातजना सेलिब्रेटीहरू यसै गरी पीडित बनेका छन् । सुनुवाइका क्रममा मोक्टर डीले आफूले केवल बाहिर बसेर ‘निगरानीकर्ता’को भूमिका मात्र निभाएको दाबी गरेका थिए भने घटनामा मुछिएका अर्का एक व्यक्तिले जेलमै आत्महत्या गरिसकेका छन् ।
