प्रिमियर लिगको रेफ्रीसम्बन्धी निकाय ‘प्रो रेफ’ ले म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा एर्लिङ हालान्डले गरेको म्यानचेस्टर सिटीको विजयी गोललाई मान्यता दिने क्रममा “निर्णयमा त्रुटि” भएको स्वीकार गरेको छ ।

म्यानचेस्टर युनाइटेडमाथि सिटीले डर्बी खेलमा जित मनाइरहँदा, उक्त विवादित गोलबारे व्यापक प्रश्न उठेको थियो ।

ओल्ड ट्राफोर्डमा भएको खेलको ६०औँ मिनेटमा जोस्को ग्वार्डिओलको क्रसमा ‘ब्याक पोस्ट’ नजिकैबाट हालान्डले गोल गरेका थिए । सुरुमा मैदानका रेफ्रीले त्यसलाई ‘अफसाइड’ भन्दै अमान्य घोषित गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीको हस्तक्षेपपछि गोलले मान्यता पाएको थियो ।

प्याट्रिक डोर्गूको जुत्ताका कारण हालान्ड ‘अनसाइड’ अवस्थामा रहेको ठहर गरिए पनि हालान्डभन्दा मध्य भागमा रहेर बलतर्फ ‘डाइभ’ गरिरहेका र ‘अफसाइड’ स्थितिमा रहेका एन्जो फर्नान्डेजले खेलमा अवरोध पुर्‍याएका थिए कि थिएनन् भन्नेबारे बहस भएको थियो ।

यसबारे एक विज्ञप्ति जारी गर्दै ‘प्रो रेफ’ ले भनेको छ, “एन्जो फर्नान्डेजले बल नछोएकाले यसले कुनै पनि अफसाइड उल्लङ्घनलाई व्यक्तिपरक,निर्णयकर्ताको बुझाइमा भर पर्ने, बनाउँछ । यद्यपि, यस घटनामा भीएआरले उनको स्थितिको सम्भावित प्रभावलाई पहिचान गर्न सकेन र मैदानमै गएर घटनाको समीक्षा गर्न सिफारिस गर्नुपर्ने थियो ।

हामीले निर्णयमा त्रुटि भएको महसुस गरेकाले युनाइटेडसँग सम्पर्क गरेका छौँ र उक्त घटनाको थप समीक्षा गरिनेछ ।”

उक्त निर्णयप्रति युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले “अन्याय” भएको बताएका छन् भने प्रशिक्षक माइकल क्यारिकले आफू “अलमलमा परेको” प्रतिक्रिया दिएका छन् ।

पहिलो हाफको २३औँ मिनेटमा फिल फोडेनले युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजलाई लात हानेपछि ‘सिधा रातो कार्ड’ पाएर सिटी १० खेलाडीमा सीमित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *