वडा अध्यक्ष कपको उपाधि संयुक्तलाई

२०८३, ३० भाद्र मंगलवार २०:३०

सुनसरीको संयुक्त युवा क्लबले पाँचौँ वडा अध्यक्ष कप खुल्ल नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार कटहरी-५ स्थित नवदुर्गा मन्दिरको मैदानमा सम्पन्न फाइनल खेलमा नवयुवा क्लब, मोरङलाई १-० गोलले स्तब्ध बनाउँदै संयुक्तले उपाधि हात पारेको हो ।

संयुक्तलाई उपाधि दिलाउन सुमन चौधरीले निर्णायक गोल गरेका थिए । उपाधि जितेको संयुक्तले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रशंसापत्र प्राप्त गरेको छ । उपविजेता नवयुवाले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रशंसापत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक संयुक्तका रेम्बो चौधरी घोषित भए । यसैगरी उत्कृष्ट मिडफिल्डर संयुक्तकै प्रल्हाद माझी घोषित भए ।

विजेता तथा उपविजेता टोलीलाई प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देव नारायण चौधरी, कटहरी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सम्पतलाल सरदार लगायतले पुरस्कार बितरण गर्नुभयो ।

मोरङको कटहरी गाउँपालिका वडा नम्वर ५ को आयोजनामा भदौ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *