एन्फा राष्ट्रिय लिग अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा शीर्ष टोलीदेखि मध्यतालिकाका टोलीसम्म प्रतिस्पर्धामा उत्रनेछन् ।
दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल बिहान १० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
दोस्रो खेलमा लालीगुराँस एसोसिएसन र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।
दिनको अन्तिम खेलमा मच्छिन्द्र फुटबल क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ । यो खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ ।
जारी लिगमा १० खेलबाट २५ अंक जोडेको मच्छिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा छ । ११ खेलबाट समान २५ अंक जोडेको सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब दोस्रो स्थानमा रहेको छ ।
यस्तै, ११ खेलबाट २२ अंक जोडेको प्लानिङ ब्वाइज युनाइटेड तेस्रो स्थानमा रहँदा १० खेलबाट समान २२ अंक रहेको संकट फुटबल क्लब चौथो स्थानमा रहेको छ ।
