ब्राजिली स्टार फरवार्ड भिनिसियस जुनियरले रियल मड्रिडसँग नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौताअनुसार उनी सन् २०३२ जुन ३० सम्म स्पेनिस महारथी रियल मड्रिडमै रहनेछन् । रियलले बिहीबार आधिकारिक रूपमा सम्झौताको पुष्टि गरेको हो । सम्झौताअघि भिनिसियसका प्रतिनिधि र क्लबका अधिकारीबीच अन्तिम चरणको छलफल भएको थियो ।
क्लबले यसअघि प्रस्ताव गरिएकोभन्दा अझ आकर्षक आर्थिक प्याकेज अघि सारेपछि दुवै पक्षबीच सहमति जुटेको बताइएको छ । एक वर्षभन्दा बढी समयदेखि वार्ता रोकिँदा भिनिसियसको भविष्यबारे विभिन्न अड्कलबाजी हुँदै आएको थियो ।
उनको अघिल्लो सम्झौता सन् २०२७ जुनसम्मका लागि थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रियलको अघिल्लो प्रस्ताव वार्षिक करिब २२ मिलियन युरो बराबरको थियो भने नयाँ प्रस्तावमा त्यसलाई थप आकर्षक बनाइएको छ ।
यसअघि भिनिसियसले वार्षिक करिब ३० मिलियन युरो पारिश्रमिकको माग गरेका थिए । पुरानो सम्झौताअनुसार उनले अन्तिम वर्षमा करिब १७.५ मिलियन युरो पारिश्रमिक पाउने व्यवस्था थियो ।
रियलले जारी गरेको विज्ञप्तिमा क्लब र भिनिसियसबीचको सम्झौता सन् २०३२ जुन ३० सम्म लम्ब्याइएको उल्लेख गरिएको छ ।
केही समयअघि भिनिसियसलाई इङ्लिस क्लब आर्सेनलसँग जोडेर विभिन्न चर्चा भएका थिए । उनलाई अनुबन्ध गर्न आर्सेनल कीर्तिमानी रकम खर्च गर्न तयार रहेको खबर सार्वजनिक भएका थिए । सम्झौता नवीकरण नभए रियल पनि उनलाई यही सिजन बेच्न तयार रहेको चर्चा चलेको थियो । तर अन्ततः भिनिसियसले आफ्नो भविष्य रियल मड्रिडमै सुरक्षित गर्ने निर्णय गरेका छन् ।
