सुनसरीको इटहरीस्थित तरहरामा जारी प्रथम तरहरा कप फुटबल प्रतियोगितामा पूर्वाञ्चल युनाइटेड, मोरङ फाइनलमा प्रवेश गरेको छ ।

बुधबार इटहरी–२० स्थित बौभासी खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सुभ बिहानी क्लब, रामधुनी, सुनसरीलाई ६–२ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेड उपाधि नजिक पुगेको हो ।

पूर्वाञ्चल युनाइटेडको जितमा समीर राईले र अमित बेस्राले समान २-२ गोल गर्दा दोर्जे तामाङ र शिव राईले समान १-१ गोल गरे । सुभ बिहानीका लागि सन्दीप लिम्बू र अनिस सबास धामीले समान १-१ गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच पूर्वाञ्चल युनाइटेडका जर्सी नम्बर १० का समीर राई घोषित भए । उनले नगद एक हजारसहित ट्रफी हात पारे ।

प्रतियोगिताअन्तर्गत शुक्रबारको दोस्रो सेमिफाइनल खेल सतिसाले स्पोर्टिङ क्लब, मोरङ र एपीएफ पकली, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाइनल असोज २२ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *