अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनको प्रभाव नेपाली फुटबलमा झन् गहिरिँदै गएको छ ।

सोही निलम्बनका कारण नेपालले अब एएफसी यू–२० एसियन कप छनोट प्रतियोगिता पनि गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको अद्यावधिक प्रतियोगिता तालिकामा नेपालको नाम हटाएपछि यू–२० राष्ट्रिय टोलीको छनोट यात्रा औपचारिक रूपमा अन्त्य भएको हो ।

एएफसीले यसअघि नै एन्फालाई पत्राचार गर्दै अगस्ट १ भित्र फिफाको निलम्बन फुकुवा भए मात्र नेपालले प्रतियोगिता खेल्न पाउने स्पष्ट पारेको थियो ।

तर तोकिएको समयभित्र निलम्बन हट्न नसकेपछि नेपाललाई छनोट प्रतियोगिताबाट बाहिर राखिएको हो । यसअघि सार्वजनिक ‘ड्र’ अनुसार नेपाल डेभलपमेन्ट फेजअन्तर्गत समूह ‘आई’ मा थियो। उक्त समूहमा आयोजक मंगोलिया, ग्वाम र नर्दन मारियाना आइल्यान्ड्स रहेका थिए ।

नेपालले अगस्ट ३१ मा ग्वामविरुद्ध पहिलो खेल खेल्ने तालिका थियो। तर एएफसीको नयाँ तालिकामा नेपालको नाम समावेश गरिएको छैन। फिफाको निलम्बनका कारण नेपालले गुमाएको यो लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि नै नेपाल एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू–१७ महिला एसियन कप छनोट प्रतियोगिताबाट वञ्चित भइसकेको छ ।

यता, नोभेम्बरमा बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता पनि अझै अनिश्चित छ । प्रतियोगिताको ‘ड्र’ सम्पन्न भइसके पनि नेपालको नाम समावेश गरिएको छैन । सेप्टेम्बर १ भित्र फिफाको निलम्बन हटेमा मात्रै नेपाल समूह ‘ए’ मा समावेश हुने सम्भावना रहनेछ । फिफाको निलम्बन लम्बिँदै जाँदा नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाइरहेको छ भने उमेर समूहका खेलाडीको विकास र प्रतिस्पर्धात्मक अवसरसमेत प्रभावित हुने चिन्ता बढेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *