नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा न्युजिल्यान्ड ‘ए’ टोलीसँग अभ्यास एकदिवसीय खेल खेल्ने भएको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गर्दै हुने यो खेल नेपालका लागि महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ ।
न्युजिल्यान्ड क्रिकेटले बिहीबार टप एन्ड टी–२० सिरिजका लागि ‘ए’ टोली घोषणा गर्दै त्यसपछि अभ्यास एकदिवसीय खेलहरू पनि तय गरिएको जानकारी सार्वजनिक गरेको हो ।
सार्वजनिक खेल तालिकाअनुसार न्युजिल्यान्ड ‘ए’ले सेप्टेम्बर २ मा दक्षिण अस्ट्रेलिया, सेप्टेम्बर ४ मा तास्मानिया र सेप्टेम्बर ६ मा नेपालसँग प्रतिस्पर्धा गर्नेछ । तीनवटै खेल अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउन्ड–२ मा आयोजना हुनेछन् ।
यसअघि न्युजिल्यान्ड ‘ए’ टोलीले अगस्ट २० देखि ३० सम्म सञ्चालन हुने एनटी टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गर्नेछ । सन् २०२२ देखि सुरु भएको उक्त प्रतियोगितामा यस वर्ष नौ टोली सहभागी हुँदैछन् । नेपालले पनि यही प्रतियोगितामा सहभागिता जनाउनेछ र टोलीको खेल तालिका यसअघि नै सार्वजनिक भइसकेको छ ।
नेपालसँग अभ्यास खेल खेल्न आउने न्युजिल्यान्ड ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव भएका १३ खेलाडी समावेश छन् । टोलीमा ब्ल्याकक्याप्सबाट खेलिसकेका क्रिस्टियन क्लार्क, म्याट फिसर, डिन फक्सक्रफ्ट, मिच हे, जेडेन लेनोक्स र बेन लिस्टरलगायतका खेलाडी रहेका छन् ।
उनीहरूमध्ये केही खेलाडीले गत महिना वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा समेत न्युजिल्यान्डको प्रतिनिधित्व गरिसकेका छन्, जसका कारण नेपालले अनुभवी टोलीविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।
