नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहिवार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मीले क्लबले खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
आर्मीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो भने दोस्रो र तेस्रो सेट क्रमशः २५–१७ र २५–१५ ले जित्यो ।
योसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । आर्मीसँगै रुकुम पश्चिम ट्रेनिङ सेन्टर, नेपाल पुलिस क्लबले कोशी प्रदेश हेल्प नेपाल स्पोर्ट्स क्लबले अन्तिम चारमा स्थान बनाएका छन् ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फको सेमिफाइनल खेल शुक्रबार हुनेछन् । दिउँसो २ बजे हुने पुरुषको पहिलो सेमिफाइनलमा हेल्प नेपाल र पुलिस तथा अपरान्ह ४ बजे शुरु हुने दोस्रो सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम भिड्नेछन् ।
त्यसअघि शुक्रबार बिहान १० बजे हुने महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र समूह बी को उपविजेता नेपाल एपीएफ क्लब भिड्नेछन् ।
यस्तै, मध्यान्ह १२ बजे हुने महिलाको दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लबले समूह बी को विजेता नेपाल पुलिस क्लबसँग खेल्ने छ ।
प्रतियोगितामा दुवैतर्फको फाइनल खेल शनिबार हुनेछन् । यस पटकको च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरि कुल २० टोली सहभागी थिए ।
