धनकुटा । सप्तरीको नमोबुद्ध युथ क्लब धनकुटामा जारी १७औं संस्करणको सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धनकुटा-५ स्थित तल्लो टुढिखेलमा बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता विर्तामोड युनाइटेड क्लब झापालाई ३-१ ले पराजित गर्दै नमोबुद्ध उपाधि नजिक पुगेको हो ।

नमोबुद्धको जितमा विवेक राईले १४औं र कप्तान सिर्जनराज गौतमले २०औं र ९०औं मिनेटमा गोल गरे । पराजित बिर्तामोडको तर्फबाट कप्तान गिल्सन कन्दङ्‌वाले २६औं मिनेटमा गोल गरे ।

खेलका दुई गोलकर्ता सिर्जन म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार विभागीय टोली नेपाल एपीएफ क्लब र गाईघाट फुटबल क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *