सुनसरीको इटहरीस्थित तरहरामा सम्पन्न प्रथम तरहरा कप फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल युनाइटेड, मोरङले जितेको छ ।
शनिबार इटहरी–२० स्थित बौभासी खेल मैदानमा भएको फाइनल खेलमा सतिसाले स्पोर्टिङ क्लब, मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चलले उपाधि हात पारेको हो ।
पूर्वाञ्चलको जितमा दोर्जे तामाङले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले पहिलो हाफमा फ्रिकिकमार्फत गोल गरेका थिए ।
पूर्वाञ्चलले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, सतीसाले उपविजेता बनेर नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
फाइनल खेलको म्यान अफ दि म्याच सतीसालेका नितेस लिम्बू घोषित भए । उनले नगद एक हजारसहित ट्रफी हात पारे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पूर्वाञ्चलका सुजन चौधरी घोषित भए । उनले नगद दुई हजारसहित ट्रफी प्राप्त गरे । त्यस्तै उत्कृष्ट प्रशिक्षक पूर्वाञ्चलका बिभस गुरुङ, सार्वधिक गोलकर्ता सुभ बिहानीका सन्दिप लिम्बू, उत्कृष्ट गोलरक्षक पूर्वाञ्चलका रोशन कार्की, उत्कृष्ट डिफेन्डर पूर्वाञ्चलकै बिजय राई, उत्कृष्ट मिडफिल्डर पनि पूर्वाञ्चलकै दोर्जे तामाङ र उदीयमान खेलाडी युनाइटेड क्लब अफ तरहराका सुमन चाम्लिङ राई घोषित भए । विधागत तर्फका उत्कृष्ट सबैले जनही एक हजार पाँच सयसहित ट्रफी प्राप्त गरे ।
