खाे–खाे विश्वकपकाे फाइनलमा नेपाली महिला टाेली आयाेजक भारतसँग पराजित भएकाे छ ।
नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार भएको फाइनल खेलमा नेपाल घरेलु टोली भारतसँग ७८-४० ले पराजित भएको हो ।
महिलातर्फ नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टोलीबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेपछि नेपाल उपविजेतामा सिमित बन्यो ।
नेपाली महिला टोली समूह ‘सी’ को विजेता बन्दै क्वार्टरफाइनलमा आएको हो । नेपाली महिला टोलीले समूह चरणमा भुटानविरुद्ध ८३–२४, जर्मनीविरुद्ध ७३–३४, श्रीलंकाविरुद्ध ११०–१० र बंगलादेशविरुद्ध ८३–२४ को जित निकालेको थियो ।
यसैगरी नेपालले क्वार्टरफाइनलमा इरानलाई १०३-८ तथा सेमिफाइनलमा युगाण्डालाई ८९-१८ ले हराएको थियो ।
अहिले नेपाली पुरुष टोलीले उपाधिका लागि भारतसँगै खेलिरहेको छ।
