प्रथम खो-खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनल खेलमा घरेलु टोली भारतसँग ५४-३६ ले पराजित भएसँगै नेपाल उपविजेता बनेको हो । योसँगै भारत पहिलो खो-खो विश्वकपको विजेता बनेको छ ।
पुरुषतर्फको उद्घाटन खेलमै भारत र नेपालबीच प्रतिस्पर्धा हुँदा भारत थोरै अन्तरले विजयी भएको थियो । भारतले त्यो लय कायम राख्दै अपराजित रहेर फाइनल पुग्दा नेपालले पनि पहिलो हारपछि बाँकी सबै खेल जितेर फाइनल पुगेको हो ।
नेपाल समूह ‘ए’ को उपविजेता बन्दै क्वार्टरफाइनल पुगेको थियो । समूह चरणमा भारतसँग ४२-३७ ले पराजित भएको नेपालले पेरुलाई ८०-३४, ब्राजिललाई १३४-८ र भुटानलाई ९८-८ अंकले हराएको थियो ।
यसैगरी नेपालले क्वार्टरफाइनलमा बंगलादेशविरुद्ध ६७-१८ तथा सेमिफाइनलमा इरानलाई ७२-२० ले हराएको थियो ।
यसअघि भएको महिलातर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो । भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बन्यो ।
पहिलो पटक भारतले आयोजना गरेको खो खो विश्वकपमा पुरुषतर्फ २० र महिलातर्फ १९ राष्ट्र सहभागी थिए ।
