काठमाडौँ । पेसएक्स स्पोर्ट्सको आयोजनामा जारी ३२ टोली सहभागी अन्तर-क्लब फुटसल प्रतियोगिताको समूह चरणका अधिकांश खेलहरू सम्पन्न भएका छन् । साउन १५ गतेदेखि सुरु भएको तीन दिने प्रतियोगितामा समूह ‘ए’ बाट नोभेल फुटबल एकेडेमीले आफ्नो शतप्रतिशत नतिजा कायमै राख्दै नकआउट चरणमा स्थान पक्का गरेको छ ।
नोभेलले समूह चरणका ३ वटै खेल जित्दै ९ अङ्कसहित समूह ‘ए’ को शीर्ष स्थान ओगटेको हो । यसै समूहबाट सेकाहा एफसी ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै, पिसिपिएस ३ अङ्कसहित तेस्रो र जि एण्ड ए एकेडेमी १ अङ्कसहित चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
समूह ‘बी’ बाट हिमालयन एफसी ३ खेलमा २ जित र १ बराबरीसहित ७ अङ्क जोडेर शीर्ष स्थानमा रहन सफल भयो । डाइनोमिक एफसी ४ अङ्कसहित दोस्रो र मात्र चिल एफसी ३ अङ्कसहित तेस्रो स्थानमा रहँदा अल्फा सेभेन भने अङ्कविहीन बन्दै बाहिरियो ।
समूह ‘सी’ मा होराक एफसी ३ खेलबाट ५ अङ्क बटुल्दै समूह विजेताका रूपमा अघि बढेको छ भने ४ अङ्क जोडेको मेन्टेन एफसी दोस्रो स्थानमा रह्यो । यस समूहका बौद्ध एफसी र युनिक युथ क्लब भने क्रमशः तेस्रो र चौथो स्थानमा सीमित भए ।
यसैगरी, समूह ‘डी’ मा वि प्ले र कुपन एफसीले समान ३-३ अङ्क जोडेका छन् भने स्ट्यान्डर्ड एफसी र लामा एफसी अङ्कविहीन रहे ।
समूह ‘ई’ मा मोलाम एफसी र रोयल नेपालले समान ४-४ अङ्क जोड्दै समूहमा बलियो पकड बनाएका छन् । फोरएस ब्वाइज चालनाखेल र टिटिजी एफसीले भने १-१ अङ्कमा चित्त बुझाए ।
समूह ‘एच’ मा एभरेष्ट एफसीले आफ्ना दुवै खेल जित्दै ६ अङ्कसहित समूहको शीर्ष स्थान कब्जा गर्यो । काठमाडौँ फुजी एकेडेमी, भकुण्डो टोली एफसी र करुणा एफसी भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ का पेसएक्स, एफसी मनकामना, बिएमजे, ठमेल ११ तथा समूह ‘जी’ का चन्द्रागिरी विकास मञ्च, डिफ स्क्वाड एफसी, नवदुर्गा युवा क्लब र क्राकेन एफसीबीचका रोमाञ्चक खेलहरू भोलि (शनिबार) हुने आयोजकले जनाएको छ ।
विजेताले १ लाख ११ हजार पाउने
साउन १७ (अगस्ट २) सम्म चल्ने यस प्रतियोगिताको विजेता टोलीले नगद रु १ लाख ११ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले रु ५१ हजार १११ र तेस्रो हुने टोलीले रु २१ हजार १११ प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि आकर्षक ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
खेलकुदको भविष्य रूपान्तरण गर्ने पेसएक्सको लक्ष्य
नेपाली खेलकुदको विकास र विस्तारका लागि स्थापना भएको पेसएक्स स्पोर्ट्सले आगामी दिनमा फुटसलका अतिरिक्त अन्य विभिन्न खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्ने लक्ष्य राखेको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा पेसएक्स स्पोर्ट्सकी अध्यक्ष संगीता कर्णले पेसएक्स स्पोर्ट्स नेपालको पहिलो पूर्ण स्तरीय खेलकुद प्रशिक्षण तथा व्यवस्थापन कम्पनी भएको बताइन् ।
“नेपालमा खेलकुदको अपार सम्भावना छ, तर ग्रासरुट तहमा गुणस्तरीय प्रशिक्षण र दीर्घकालीन दिगोपनको कमी छ,” अध्यक्ष कर्णले भनिन्, “ती चुनौतीलाई सम्बोधन गर्दै नेपाली खेलकुदको भविष्य रूपान्तरण गर्न हामी अन्तर्राष्ट्रिय प्रविधि र स्थानीय लगावलाई जोडेर अघि बढेका छौँ ।”
उनका अनुसार पेसएक्स केवल एउटा प्रशिक्षण केन्द्र मात्र नभई खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र र खेलकुद निकायहरूलाई जोड्ने साझा मञ्चका रूपमा स्थापित हुनेछ ।
प्रतियोगिताको औपचारिक उद्घाटन अध्यक्ष संगीता कर्ण, मानव संसाधन निर्देशक कुन्दन कर्ण, तथा कार्यकारी निर्देशक डा. रेशव दास लगायतका अतिथिहरूले संयुक्त रूपमा गरेका थिए ।
