काठमाडाैं । प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीप शुक्रबार विनोद श्रेष्ठ र आकाश गजमेरले जित हासिल गरेका छन् ।
काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताको तेस्रो दिन दोस्रो चरण सुरु भएको हो ।
बेस्ट अफ सेभेनअन्तर्गतको खेलमा विनोदले सोम विकलाई ४–२ र आकाशले फुर्वा दोर्जे शेर्पालाई ४–३ ले हराए । आकाशको यो दोस्रो जित हो । विनोद भने पहिलो चरणमा नेपालका नम्बर एक खेलाडी वाङचु तामाङसँग पराजित भएका थियो ।
एक दिनअघि राजन गुरुङले विकास महर्जनलाई ४–२, समाङले सोमलाई ४–१, आकाशले राजनलाई ४–२, रोहित क्षेत्रीले नितेश खन्डवाललाई ४–१, फुर्वाले जय महर्जनलाई ४–१, आयुष गौसमाले अमन कार्कीलाई ४–० र सोम लामाले मिलन लामालाई ४–३ ले पराजित गरेका थिए ।
यस प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकका एक खेलाडीको पनि सहभागिता रहेको छ ।
प्रतियोगितामा १६ जनालाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई खेलाडी नकआउट चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ ।
