काठमाडाैं । एन्जल्स हार्ट माविको आयोजनामा दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा करिब ५० टिमको सहभागिता अपेक्षा गरिएको एन्जल्स हार्टका कार्यकारी अध्यक्ष लिलबहादुर पुनले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक यमबहादुर छन्त्यालले जानकारी दिए । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने छ ।
प्रतियोगितामा २०८२ सालमा एसइइ दिएका तथा कक्षा ११ र १२ को हकमा राष्ट्रिय परिक्षा बोर्डमा ०८२÷०८३ को रजिस्ट्रेसन प्राप्त १८ वर्ष ननाघेका विद्यार्थीले सहभागी हुन पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ३० हजार रुपैयाँ खर्च हुने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले बताए । लिग कम नकआउट आधारमा चारदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा खेलाइने छ ।
