प्रकाशपुर (सुनसरी) । सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा सम्पन्न प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप रात्रिकालीन फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज, गछिया, मोरङले जितेको छ ।
शनिबार श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा आयोजक प्रकाशपुर युवा जमातलाई सडेन डेथमा ६-५ ले निराश पार्दै गछिया च्याम्पियन बनेको हो ।
उपाधी हात पारेसंगै गछियाले नगद दुई लाख २२ हजार २२२ रुपैयाँसहित विजेता ट्रफी प्राप्त गरेको छ । उपविजेता आयोजकले नगद एक लाख ११ हजार १११ रुपैयाँमा चित्त बुझाएको छ ।
निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि नतिजाका लागि सिधै टाइब्रेकर गराइएको थियो । टाइब्रेकरमा ५–५ को बराबरी भएपछि खेल सडन डेथमा धकेलियो । जसमा गछिया भाग्यमानी बन्यो ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका गछियाका सबिन धिमिरे म्यान अफ दि म्याच हुँदै नगद २,५०० रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका योगेश खत्री भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै प्रतियोगितामा गछियाका मनोज राई उत्कृष्ट खेल प्रशिक्षक, गछियाकै सलोन जिमी उत्कृष्ट मिड फिल्डर, आयोजकका सोलोमन उत्कृष्ट फरवार्ड, गछियाका सुजन चौधरी उत्कृष्ट डिफेन्डर, गछियाकै प्रमिजय गच्छदार उत्कृष्ट गोलरक्षक तथा उदयीमान खेलाडी आयोजकका डेनिश क्षेत्री र सुदिप पाण्डे भए । उनीहरुलाई समान ३,५०० रुपैंया नगद पुरस्कार प्रदान गरियो ।
प्रकाशपुर युवा जमातको आयोजनामा भएको प्रतियोगितामा पूर्वी नेपालका आठ वटा फुटबल टोलीको सहभागिता रहेको थियो ।
