धनकुटा । धनकुटामा जारी १८औं संस्करणको सहिद भीमनारायण गोल्डकपमा मोरङको बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै बेलबारीले अन्तिम चारको यात्रा तय गरेको हो ।

बेलबारीको जितमा विदेशी खेलाडी बाबा टुण्डेल खेलको ८०औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच निर्णायज गोलकर्ता बाबा टुण्डे घोषित भए । उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बिहीबारदेखि सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ । जसमा बिहीबार हुने सेमिफाइनलको पहिलो खेलमा सिराहाको सलहेश फुटबल क्लब र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान तथा शुक्रबार झापाको बिर्तामोड युनाइटेड क्लब र मोरङको बेलबारी फुटबल क्लबबिच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।

दुबै सेमिफाइनल खेलका विजेताबीच जेठ १६ गते फाइनल खेल हुने भएको छ । प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *