विराटनगर । विराटनगरको जुटमिलमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली टीडब्लूवाईसी फुटबल क्लब, विराटनगर फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विराटनगर उपाधि नजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलको ४३औँ मिनेटमा दोर्जे तयामाङले गरेको गोल नै विराटनगरका लागि निर्णायक बन्यो । उनको त्यही गोलको मद्दतले टोलीले फाइनलको यात्रा तय गरेको हो । निर्णायक गोलकर्ता दोर्जे तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विराटनगरले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर र लालीगुराँस फुटबल क्लब, रानीबीच हुने आयोजकले जनाएको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले २ लाख १ हजार १ सय ११ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
