विराटनगर । विराटनगर महानगरपालिका मेयरकप अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १९ ले उचालेको छ ।
विराटनगरको बैजनाथपुर खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १६ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १९ ले उपाधि हात पारेको हो ।
प्रतियोगिताको उपाधि विजेता वडा नम्बर १९ ले नगद ८० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको वडा नम्बर १६ ले नगद ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल खेलमा वडा नम्बर १९ लाई जित दिलाउन दुबै गोल समीर क्षेत्रीले गरे । समीर नै फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १,१११ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक वडा नम्बर १९ का कृष सरदार, उत्कृष्ट डिफेन्डर वडा नम्बर १९ कै बिकाश खवास, उत्कृष्ट मिडफिल्डर वडा नम्बर १६ का अभि राम, उत्कृष्ट फरवार्ड वडा नम्बर १६ कै नबिन मगर, सार्वधिक गोलकर्ता वडा नम्बर १९ का मिलन लिम्बु भए । उनीहरूले जनही तीन हजार रुपैयाँ र ट्रफी पाए ।
प्रतियोगिताको उदयीमान खेलाडी वडा नम्बर १९ का सुशान्त खवास भए । उनले नगद २,१११ रुपैयाँ प्राप्त गरे । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक वडा नम्बर १९ का गौरव खवास भए ।
विजयी टोली र खेलाडीलाई विराटनगर महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष काजी बहादुर बस्नेत लगायत अन्य उपस्थित अतिथिहरुले नगद तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।
विराटनगर महानगरपालिका वडा नम्बर १९ को आयोजना तथा पोखरिया युथ केयर एकेडेमीको संयोजनमा बैशाख २७ गते सुरु भएको प्रतियोगितामा विराटनगरका १० वटा वडाको सहभागिता रहेको थियो ।
