काठमाडौं । २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड-२०८२ को तयारी पूरा भएको छ । आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अवार्डको तयारी पूरा भएको जानकारी गराएको हो ।
अवार्ड यही चैत्र २० गते शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकास्थित चण्डेश्वरी मन्दिर परिसरमा हुँदैछ । यो कार्यक्रम पहिलो पटक काठमाडौं उपत्यका बाहिर आयोजना हुन लागेको हो ।
नेपाल ओलम्पिक कमिटीबाट मान्यता प्राप्त २६ वटा खेलका आधारमा सम्बन्धित संघले सिफारिस गरेका खेलाडीहरूलाई ‘वर्ष उत्कृष्ट खेलाडी-२०८१’ बाट सम्मान गरिनेछ ।

यस्तै, कार्यक्रममा विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । जसअन्तर्गत २६ खेलका उत्कृष्ट खेलाडी, उत्कृष्टमध्ये एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी, एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी, एक जना पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान, एक खेल पत्रकारलाई खेल पत्रकारिता पुरस्कार तथा एक जना उत्कृष्ट पारा खेलाडीलाई सम्मान गरिनेछ ।
पुरस्कारअन्तर्गत प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख रुपैयाँ दिइनेछ । प्रतिभाशाली खेलाडीलाई जनही ५० हजार रुपैयाँ, गजराज आदर्श खेल व्यक्तित्व र खेल पत्रकारिता पुरस्कारका लागि ३५–३५ हजार रुपैयाँ तथा पारा खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, जुडो, ब्याडमिन्टन, आर्चरी, फेन्सिङ, पौडी, ट्राथोलन, कुस्ती, बास्केटबल, कबड्डी, कराते, भलिबल, तेक्वान्दो, जिम्नास्टिक, लन टेनिस, हक्की, टेबलटेनिस, बक्सिङ, स्की, क्यानोइङ र साइकलिङ गरी २६ खेल समावेश गरिएका छन् ।
