विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियागितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
तल्लो मुलपानी क्रिकेट रंगशालामा गण्डकी प्रदेशले दिएको २१० रनको लक्ष्य पछ्याएको आर्मीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ३४ ओभरमै ३ विकेट गुमाएर २१० रनको लक्ष्य सहजै पूरा गरेको छ ।
यस जितसँगै आर्मीले लगातार दोस्रो जित दर्ता गरेको छ भने गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ ।
आर्मीका लागि ओपनर तथा कप्तान विनोद भण्डारीले ५८ रनको योगदान गरे । अर्का ओपनर तिर्थराज दासले ५१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । दुईबीच पहिलो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी भयो । त्यसपछि भीम शार्की ५४ रन र कुशल मल्ल ४३ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाए ।
गण्डकीका सुभाष भण्डारीले २ विकेट लिए भने विपिन खत्रीले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी ४९ दशमलव ४ ओभरमा २०९ रनमा अलआउट भएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ६७ रन बनाउँदा दीपक डुम्रेले ५१ रनको योगदान दिए ।
बलिङतर्फ आर्मीका आकाश चन्द र शाहाब आलमले समान ३र३ विकेट लिए भने कुशल मल्लले किफायती बलिङ गर्दै २ विकेट लिए ।
