काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६ औं चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामना सहित बिदाई गरेका छन् ।
उज्वेकिस्तान प्रस्थान गर्ने नेपालका खुला तथा महिला दुबै राष्ट्रिय टोलिलाई काठमाडौ दरबारमार्ग स्थित होटल उडल्याण्डमा मुख्यमन्त्रीले खेल पोशाक लगायत सामग्री समेत हस्तान्तरण गरेका छन् ।
मुख्यमन्त्री थापामगरले नेपाली टोलीले ओलम्पियाडमा पदक प्राप्त गरेको खण्डमा बागमती प्रदेश सरकारले विशेष व्यवस्था गर्ने बताए । खुला तर्फ २ सय ८ राष्ट्र तथा महिलातर्फ १ सय ९१ राष्ट्र सहभागी रहने ओलम्पियाडमा नेपाल समूह डि मा प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल बुद्धिचाल महासंघले गत ४५ दिन देखी नेपालका दुबै टोलीलाई विशेष बन्द प्रशिक्षण दिंदै उच्च मनोबलका साथ तयारी सम्पन्न गरेका छन् । कजाकिस्तानका अर्न्तराष्ट्रिय मास्टर किरिल कुदेरिनोभलको प्रशिक्षणमा तथा क्याप्टेन रहेको नेपाली पुरुष टोलिमा एफएम रूपेश जयसवाल, सिएम सुश्रुत दाहाल तथा पुरुषोतम सिलवाल, आशिष फुँयाल र राजन सुवेदीको सहभागीता रहेको छ ।
यस्तै एफएम रिजेन्द्र राजभण्डारीको प्रशिक्षणमा एवं क्याप्टेन रहेको महिला टोलिमा कृतिसरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशीको सहभागीता रहेको छ । नेपाल बुद्धिचाल महासंघका कार्यबाहक कोषाध्यक्ष आईए निरञ्जन प्रजापति निर्णायक, प्रवक्ता राजु ताम्राकार तथा सल्लाहकार मा. रघुनाथ महर्जन पनि टोलीसँगै प्रस्थान गर्ने छन् ।
फिडेको विशेष निमन्त्रणामा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरम बहादुर लामा बिहिबार फरक क्षमताको ओलम्पियाड उद्घाटन समारोहमा सहभागी हुन उज्वेकिस्तान पुगिसकेका छन् । उपाध्यक्ष श्याम ब्यञ्जनकारको अध्यक्षतामा सम्पन्न बिदाई कार्यक्रममा बागमती प्रदेशका मा. रामकृष्ण चित्रकार, मा. रघुनाथ महर्जन, ललितपुर महानगरपालिकाका १६ अध्यक्ष निर्मलरत्न शाक्य, रामगोपाल घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
