शंकर रानाकाे शानदार शतकमा विभागीय नेपाल पुलिसले दाेस्राे जित दर्ता गरेकाे छ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियागिता अन्तर्गत माथिल्लाे मुलपानी क्रिकेट मैदानमा पुलिसले बागमती प्रदेशलाई ७ विकेटले जित दर्ता गरेकाे छ ।
बागमतीले दिएकाे २६५ रनकाे लक्ष्य पछ्याएकाे पुलिसले ४४ ओभरमा तीन विकेट गुमाएर २७१ बनायाे ।
पुलिसका दिनेश खरेल र शंकर रानाले शानदार इनिङ्स खेले । खरेलले ७० रन बनाउँदा रानाले ११६ रनको शतकीय पारी खेले । यी दुईबीच पहिलो विकेटका लागि १५९ रनको महत्वपूर्ण साझेदारी बनेको थियो ।
त्यसपछि दिल्साद अली ८ रनमै आउट भए पनि कप्तान आरिफ शेखले अविजित ४३ रन बनाए । अन्तिमतिर राशिद खानले केवल २ बलमा १० रन जोड्दै टोलीको स्कोर अझ मजबुत बनाए । पुलिसले २४ रन अतिरिक्तका रूपमा प्राप्त गर्याे ।
बलिङतर्फ बागमतीका रिजन ढकाल, सन्दीप लामिछाने र सुभाष खत्रीले समान १–१ विकेट लिए ।
