प्रिमियर लिगको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी सन्डरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि शीर्ष स्थानको आर्सनलसँगको दूरी ४ अंकमा पुगेको छ ।

नयाँ वर्षको दिन स्टेडियम अफ लाइटमा भएको खेलमा पेप ग्वार्डिओलाको टोलीले आकर्षक प्रदर्शन गरे पनि गोल गर्न सकेन । यो बराबरीसँगै सिटीले आर्सनलसँगको दूरी २ अंकमा झार्ने अवसर गुमायो ।

खेलको सुरुआतमै बर्नार्डो सिल्भाले गरेको गोल अफसाइडका कारण मान्य भएन । त्यस्तै साविन्हो र जोस्को ग्वार्डिओल पनि गोल नजिक पुगेेर पनि सफल हुन सकेनन् । योसँगै सिटीको लगातार ६ खेलको जित यात्रा अन्त्य भयो ।

सन्डरल्याण्डका लागि ब्रायन ब्रबेइ र एलाइजर मायन्डाले राम्रो अवसर सिर्जना गरे । ब्ल्याक क्याट्सले मजबुत रक्षात्मक खेल प्रदर्शन गर्दै यो सिजनको घरेलु प्रिमियर लिग खेलमा अपराजित यात्रा कायम राख्यो । बराबरीपछि सिटी दोस्रो र सन्डरल्याण्ड सातौँ स्थानमा यथावत् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *