विराटनगर । बरगाछी युवा समूह, विराटनगरको आयोजनामा शुक्रबारदेखि तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिता शुरु भएको छ ।
विराटनगर-१ स्थित परोपकार घाटको खेल मैदानमा सम्पन्न पहिलो दिनको खेलमा जिएफसी बेलबारी, जनपथ फुटबल ट्रेनिङ सेन्टर विराटनगर र मितेरी युवा क्लब बिराटचोकले विजयी सुरुआत गरेका छन् ।
उद्घाटन खेलमा जिएफसी बेलबारीले बुढीगंगा स्पोर्टिङ क्लब, बुढीगंगालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्यो । निर्धारित समयमा दुबै टोलीले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।
निर्धारित समयमा जिएफसीका लागि दुबै गोल रक्की माझीले गरे भने बुढीगंगाका लागि जतिन कुमार थारु र भुपेन्द्र लुइँटेलले गोल गरे । खेलको म्यान अफ दि म्याच जिएफसीका गोलरक्षक धिरज कुमार चौधरी घोषित भए । उनले विराटनगरमा रहेको विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।
दिनको दोस्रो खेलमा जनपथ फुटबल ट्रेनिङ सेन्टरले बबिया बिर्ता युवा क्लबलाई टाइब्रेकरमा ५-४ ले स्तब्ध बनायो । निर्धारित समयमा दुबै टोलीले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।
निर्धारित समयमा जनपथका लागि कोमल श्रेष्ठले दुई तथा आशिष थारुले एक गोल गरे । बबिया बिर्ताका लागि सुजन खवास, गजेन माझी र सुरज मर्दीले समान एक-एक गोल गरे ।खेलको म्यान अफ दि म्याच जनपथका कोमल श्रेष्ठ चुनिए । उनले पनि विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।
त्यसैगरी दिनको अन्तिम तथा तेस्रो खेलमा मितेरी युवा क्लब विराटचोकले आयोजक बरगाछी युवा समूह ‘बी’ लाई ४-१ ले पराजित गर्यो । मितेरीको जितमा रोहित राईले दुई तथा सुदिप गुरुङ र विराज लिम्बुले समान एक-एक गोल गरे । बरगाछीका लागि ओम अधिकारीले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच मितेरीका रोहित राई भए । उनले पनि विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजल बरगाछी युवा समुहका संरक्षक तथा कांग्रेस विराटनगर महानगरपालिकाका सभापति दीपक चापागाईं, स्व.अभिषेक थापको आमा तथा विराटनगर महानगरपालिका वडा नं ११ का वडा सदस्य गायत्री थापा लगायत विशिष्ठ व्यक्तिहरुले संयुक्त रुपमा गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शनिबार पनि तीन खेल हुनेछ । लागु औषध दुर्व्यसनी न्युनिकरण गर्न ‘स्वास्थ्य जीवन, मस्त जीवनका लागि खेलकुद’ भन्ने मुल नारा सहित आयोजना गरिएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँ तथा उपविजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल माघ ७ गते हुनेछ ।
