बिर्तामोड । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ ।

निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना हुन लागेको सातौँ संस्करणका लागि हालसम्म एक सयभन्दा बढी नयाँ सदस्य थपिएको झापा गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।

यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुने प्रतियोगिताका लागि सदस्य बन्नेहरूबाट उत्साहजनक सहभागिता देखिएको गिरीले बताए ।

गोल्डकपले पुसदेखि सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्न सक्ने व्यवस्था गरिएको छ । यस अभियानमा झापासहित देशभर तथा विदेशमा रहेका नेपालीहरूको समेत सहभागिता रहेको जनाइएको छ ।

दीर्घकालीन रूपमा गोल्डकपलाई अझ व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले नयाँ सदस्यता थप गरिएको हो । सदस्यहरूलाई प्रतियोगिताका दौरान विशेष सुविधा प्रदान गर्ने तयारी गरिएको झापा गोल्डकपका कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए ।

१५ लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । उपविजेताले आठ लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली, झापा ११, भारत, भुटान र मलेसियाका एक–एक टोली तथा तीनवटा नेपाल ए–डिभिजन क्लबको सहभागिता रहने अध्यक्ष गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *