नक्सलबारी । मोरङको नक्सलबारीमा सम्पन्न छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि सतिसाले फुटबल क्लब, मोरङले जितेको छ ।

बिहिवार भएको फाइनल खेलमा लेटाङ फुटबल क्लब, मोरङलाई २-१ ले पराजित गर्दै सतिसालेले उपाधि जितेको हो । सतिसालेको जितमा भुवन बस्नेतले दुबै गोल गरे । लेटाङका लागि शुशील राईले गोल गरे ।

विजेता बनेको सतिसालेले उपाधिसँगै नगद ५१ हजार रुपैयाँ हात पार्दा उपविजेता लेटाङले ३१ हजार सहित ट्रफी, मेडलमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच सतिसालेका निर्णायक गोलकर्ता भुवन बस्नेत भए । उनले नगद रु १,५०० सहित मेडल प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा पनि सतिसालेकै खेलाडीको बर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक सतिसालेका बिपुल मगर बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि सतिसालेकै भुवन बस्नेतले हात पारे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेन्डर सतिसालेका सबिन घिमिरे, उत्कृष्ट मिडफिल्डर लेटाङका सन्दिप थाडा मगर, उत्कृष्ट प्रशिक्षक सतिसालेकै विश्वास राई र उदयीमान खेलाडी भने नक्सलबारी फुटबल क्लबका रेगन हमाल भए । उत्कृष्ट घोषित भएका सबैले जनही नगद दुई हजार पाँच सय रुपैयाँको साथमा ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी सतिसालेका बिकाश परियार भए । उनले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे । जनज्योति क्लब, नक्सलबारी, मोरङको आयोजनामा पौष २५ गतेदेखि शुरु भएको प्रतियोगितामा मोरङ र सुनसरी गरी ८ वटा टिम सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *