ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को शुक्रवार सेमिफाइनल समीकरण पुरा भएको छ ।
ललितपुर महानगरपालिकाको मुख्य आयोजनामा भएको क्वाटर फाइनल खेलबाट आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै सप्तरीका विष्णु कटुवाल, आर्मीका विधान अधिकारी र प्रफुल्ल महर्जन तथा एपिएफका क्षितिज खनालले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । विष्णुले एपिएफका भोजबहादुर गुरुङलाई २१-१७, २१-१३ ले पराजित गर्दै सेमीमा प्रवेश गरेका हुन् ।
यस्तै विधानले पुलिसका जीवन आचार्यलाई २१-१३, २१-१३ को सोझो सेटमा पराजित गरे । प्रफुल्ल र पुलिसका पूर्ण थापाबिच भएको खेलमा प्रफुल्लले २१-८, २१-७ को जित निकाल्दै क्षितिज सँगको भेट पक्का गरेका हुन् । क्षितिजले आर्मीका नरेन्द्र बमलाई २१-१९, २१-७ ले पराजित गरेका हुन् ।
महिला एकल तर्फ तीन संस्करणकी विजेता रसिला महर्जनले जित हात पार्दै सेमिफाइनल प्रवेश गरिन् । रसिलाले एपिएफकी स्वर्लिन श्रेष्ठ माथि २१-१२, २१-११ को जित निकालेकी हुन् । अव रसिलाले फाइनल प्रवेशका लागि आर्मीकी रिहाना शेरचन सँग प्रतिस्पर्धा गर्ने छिन् । शेरचनले पुलिसकी निता लम्साललाई २१-२३, २१-१३, २१-१४ ले पराजित गरेकी हुन् ।
अर्को प्रतिस्पर्धामा आर्मीकी अमिता गिरीले आफ्नै क्लबकी सेश्ना शिरपालिलाई वाक ओभर दिइन् । यस्तै भोजपुरकी नङ्गसल तामाङले फिट नेपाल स्पोर्टस्प्लेक्सकी निभा राईलाई २१-८, २१-१९ ले पराजित गर्दै सेमिफाइनलमा शिरपालि सँगको भेट पक्का गरिन् ।
ललितपुर ब्याडमिन्टन सङ्घ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा भएको यु १७ महिला एकल तर्फको खेलमा आर्मीकी रिहाना शेरचनले बालकुमारी रिमिक्सकी सिभ्लिका गिरीलाई २१-७, २१-८ ले पराजित गर्दै सेमिफाइनलमा एपिएफकी स्वर्लिन श्रेष्ठ सँगको भेट पक्का गरिन् । स्वर्लिनले बालकुमारी रिमिक्सकी बिशेष्था खड्कालाई २१-११, २१-९ ले पराजित गरेकी हुन् ।
यस्तै अर्को खेलमा सेनाकी समृद्धि श्रेष्ठले बालकुमारी रिमिक्सकी युश्ना महर्जनलाई २१-७, २१-१० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन् । अव युश्नाले फाइनल प्रवेशका लागि फिट नेपाल स्पोर्टस्प्लेक्सकी निभा राई सँग प्रतिस्पर्धा गर्ने छिन् । निभाले आर्मीकी अजरेन्का शेरचनलाई २१-१२, २१-१४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन् ।
यु १७ पुरुष एकल तर्फको खेलमा आर्मीका सदीप राई, प्रतीक विष्ट र सौर्य महर्जन तथा कस्तुरी कलेजका मिशेक लिम्बुले सेमिफाइनलमा स्थान बनाए । सदीपले एपिएफका शिशिर रानालाई २१-१२, २१-१३, २१-१३, प्रतिकले मध्वालिया ब्याडमिन्टन क्लबका विवेक अधिकारीलाई १५-२१, २१-१६, २१-१४, सौर्यले लभ ब्याडमिन्टन एकेडेमीका पप्लु पाललाई २१-१२, २१-१२ र मिशेकले आर्मीका रिजन मगरलाई २१-१४, २१-१४ ले पराजित गरेका हुन् ।
पुरुष युगल ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेस क्लबका सञ्जय कपाली र अनिल थाम्सुहाङ्गको जोडी सेमिफाइनल प्रवेश ग¥यो । उक्त जोडीले आफ्नै क्लबका सुमन काफ्ले र कृष्णहरि प्रसाईँको जोडीलाई २१-७, २१-१२ ले पराजित गर्दै सेमिफाइनलमा बालकुमारी रिमिक्सका शान्ता डङ्गोल र ज्ञान कुमालको जोडी सँगको भेट पक्का गरे । डङ्गोल र कुमालको जोडीले स्वस्तिक ब्याडमिन्टनका राजेन्द्र लामा र छत्र नायकको जोडीलाई २१-९, २१-१४ ले पराजित गरे ।
अर्को प्रतिस्पर्धामा अच्युत बस्नेत र महेश भट्टराईको जोडीले देवी नगरका कुशल कुमार के.सी. र नारायण दास श्रेष्ठको जोडीलाई २१-१६, २१-१६ को समान अन्तरमा पराजित गर्दै फाइनल प्रवेशका लागि युनिटी ब्याडमिन्टन क्लबका आङ्गकुसाङ्ग शेर्पा र लाक्पा शेर्पाको जोडी सँगको भेट पक्का गरे । शेर्पा जोडीले कीर्तिपुर ब्याडमिन्टन क्लबका अमित महर्जन र चन्द्रागिरि ब्याडमिन्टन क्लबका राजकुमार पोखरेलको जोडीलाई २१-१७, १२-२१, २१-१३ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।
पुरुष युगल तर्फको खेलमा आर्मीका प्रफुल्ल महर्जन र टाइम आउटका रुकेश महर्जनको जोडीले जित हात पार्दै सेमिफाइनल प्रवेश गरे । महर्जन जोडीले आर्मीका विवेक चौधरी र नखिपोटका नेल्सन राईको जोडीलाई २१-१९, १५-२१, २१-१५ ले पराजित गरे । अर्को खेलमा एपिएफका देवराज राना र प्रनिश सिंह ठकुरीको जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१-१४, २१-१२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
