धनकुटा ।​​​​​​ पर्यटकीयस्थल भेडेटारमा यही असोज २४ गतेदेखि चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। भेडेटार ब्याडमिन्टन क्लबको आयोजनामा साँगुरीगढी गाउँपालिका–६, भेडेटारस्थित भेडेटार ब्याडमिन्टन हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिला डबल्स प्रदेश–१ ओपन, प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्स र भेट्रान राष्ट्रिय डबल्स गरी तीन विधामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष दिपेन लिम्बुले बताए । प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्सतर्फ प्रथम हुनेले रु. ३० हजार, दोस्रोले रु. १५ हजार र तेस्रो हुनेले रु. ७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

महिला डबल्सतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु. २० हजार, रु. १० हजार र रु. ५ हजार प्राप्त गर्नेछन् । त्यस्तै, भेट्रान राष्ट्रिय डबल्सतर्फ प्रथम हुनेलाई रु. ३० हजार, दोस्रोलाई रु. १५ हजार र तेस्रो हुने जोडीलाई रु. १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालका विभिन्न स्थानका खेलाडीका साथै भारतको सिलिगुडी र सिक्किमबाट समेत खेलाडीहरूको सहभागिता रहने बताइएको छ ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले पछिल्लो समय ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको बताउँदै गाउँपालिकाले विभिन्न वडा तथा स्थानहरूमा कभर्डहल निर्माण गरिरहेको जानकारी दिए । उनले भेडेटारको पर्यटन प्रवर्द्धनमा खेल क्षेत्रबाट समेत योगदान पुग्ने बताए । प्रतियोगिता असोज २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *