चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा विजय हात पार्दै त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधि रक्षा गरेकी छिन् ।

तीन पटककी उपाधि विजेता समेत रहेकी महर्जनले चौथो उपाधि जित्ने क्रममा आफ्नै क्लबकी शेस्ना शिरपालि माथि जित निकालिन् । पहिलो सेट २०–२२ ले पछाडि परेकी रसिला खेलमा फर्कँदै दोस्रो र तेस्रो सेट २१–१५, २१–९ ले आफ्नो पक्षमा पार्दै जित हात पार्न सफल भएकी हुन् । रसिलाले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । उपविजेता शेस्नाले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । तेस्रो स्थानमा आर्मीकी रिहाना शेरचन र भोजपुरकी नङ्गशल तामाङ रहे । शेरचन र तामाङले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकल तर्फ आर्मीका प्रफुल्ल महर्जनले पहिलो पटक उपाधिमा नाम लेखाए । महर्जनले सप्तरीका विष्णु कटुवाललाई २१–९, २१–६ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाएका हुन् । विजेताले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपविजेताले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । तेस्रो स्थानमा आर्मीका विधान अधिकारी र एपिएफका क्षितिज खनाल रहे । अधिकारी र खनालले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त  गरे ।

बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको पुरुष युगल तर्फको प्रतिस्पर्धामा आर्मीका विधान अधिकारी र पविन लिङ्गथेपको जोडीले जित हात पारे । विधान र पविनको यो प्रतियोगितामा लगातार चौथो पटकको जित हो । विधान र पविनको जोडीले आर्मीका प्रफुल्ल महर्जन र टाइम आउटका रुकेश महर्जनको जोडीलाई २१–२३, २१–१७, २१–१८ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाएका हुन् । तेस्रो स्थानमा एपिएफका देवराज राना र प्रनिश सिंह ठकुरीको जोडी तथा तीन चुलीका सुनिल कार्की र महेश खड्काको जोडी रहे । विजयी खेलाडीहरूले नगद ५० हजार, उपबिजयीले नगद २५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यु १७ महिला एकल तर्फको खेलमा आर्मीकी रिहाना शेरचन विजय भइन् । शेरचनले फिट नेपाल स्पोर्टस्प्लेक्सकी निभा राईलाई २१–१४, २१–१४ को समान अन्तरले पराजित गरेकी हुन् । यस विधामा एपिएफकी स्वर्लिन श्रेष्ठ र आर्मीकी समृद्धि श्रेष्ठ संयुक्त तेस्रो स्थानमा रहे । यु १७ पुरुष एकल तर्फ आर्मीका सदीप राईले उपाधिमा नाम लेखाए । उनले आफ्नै क्लबका प्रतीक विष्टलाई २१–१९, २१–१५ ले पराजित गर्दै उपाधि चुमेका हुन् । आर्मीका रिजन महर्जन र सौर्य महर्जनले तेस्रो स्थानमा चित्त बुझाए । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद २० हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

मास्टर युगल ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेस क्लबका सञ्जय कपाली र अनिल थामसुहाङ्गको जोडीले युनिटी ब्याडमिन्टन क्लबका आङ्गकुसाङ्ग शेर्पा र लाक्पा शेर्पाको जोडीलाई १७–२१, २१–१७, २२–२० को कठिन जित निकाल्दै मास्टरको उपाधि जिते । बालकुमारी रिमिक्सका शान्ता डङ्गोल र ज्ञानु कुमालको जोडी तथा कोटेश्वरका अच्युत बस्नेत र महेश भट्टराईको जोडी संयुक्त तेस्रो भए । विजेताहरूले क्रमशः नगद नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

विजेता खेलाडीहरूलाई ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, शीर्ष २० वरीयता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ वर्ष माथिको मास्टर युगल खुला गरी ६ विधामा करिब २ सय २६ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

४ लाख २५ हजार पुरस्कार राशि रहेको प्रतियोगिताको अनुमानित लागत ३२ लाख २० हजार ५ सय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *