विराटनगर । विराटनगर-५ स्थित दिल्ली पब्लिक स्कुलको आयोजनामा तेस्रो डिपिएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तर विद्यालय फुटबल रनिङ कप २०८२ मा आज तीन खेलहरु भएका छन् ।
बिहिवारको पहिलो खेलमा कोशी मोडल स्कुल प्रतिस्पर्धामा नआएपछि गोदावरी स्कुल वाकओभर पाएर क्वार्टरफाइनलमा पुगेको छ ।
यसैगरी दोस्रो खेलमा बिकेभिएम स्कुलले एजेलियालाई १-० ले पराजित गर्यो । जितसँगै बिकेभिएम स्कुल प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । बिकेभिएम स्कुललाई जित दिलाउन रोजन राज पाण्डेले निर्णायक गोल गरे । रोजन नै खेलको म्यान अफ दि म्याच भए ।
तेस्रो खेलमा सनसाईन स्कुलले अर्पण स्कुललाई टाइब्रेकरमा ५-४ ले हरायो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । जितसँगै सनसाईन स्कुलले अन्तिम आठमा स्थान बनाएको छ । खेलको म्यान अफ दि म्याच अर्पण स्कुलका हरिराम राजवंशी चुनिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछन् । पहिलो खेल आयोजक दिल्ली पब्लिक स्कुल, विराटनगर र गोदावरी स्कुल, विराटनगरबीच हुनेछ । दोस्रो खेल भारतको माउन्ट जियोन स्कुल र सनसाईन स्कुल, विराटनगरबीच हुनेछ ।
पुष १२ गते सम्म चल्ने प्रतियोगितामा भारतको एक विद्यालय सहित झापा सुनसरी र मोरङका १० वटा विद्यालयले प्रतियोगितमा सहभागिता जनाएका छन् ।
