प्रशिक्षक जोसे मोरिन्हो पछिल्लो समय लगातार विवादमा परिरहेका छन् ।
हाल टर्किस क्लब फेनरबासेका मुख्य प्रशिक्षक रहेका मोरिन्होले गालाटासारेका प्रशिक्षक ओकान बुरुकको नाक समातेको विषय फेरी विवादमा परेको छ । यस घटनामा उनलाई १० खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।
बुधबार फेनरबासेले टर्किस कपको क्वार्टरफाइनलमा गालाटासारेसँग २-१ गोल अन्तरले हार बेहोरेपछि, मोरिन्होले पछाडिबाट आफ्नो समकक्षीको नजिक पुगे र नाक चिमटेको देखिएका थिए, जसले गर्दा बुरुक हातले अनुहार छोपेर भुइँमा लडेका थिए । सो घटनापछि बुरुकले मोरिन्होलाई १० खेलसम्म निलम्बन गर्न भन्दै उजुरी गरेका छन् ।
मोरिन्हो फेनरबाह्सेमा आफ्नो पहिलो सिजनमा लगातार विवाद परिरहेका छन् । यस सिजनको सुरुमा उनले चार खेलको प्रतिबन्ध झेलेका थिए । पछिल्लो घटनापछि धेरै प्रशंसकहरूले उनलाई राजीनामा दिन आग्रह गरिरहेको टर्किस मिडियाहरुले उल्लेक गरेका छन् ।
मोरिन्होले बुरुकको नाक समातेको घटनालाई आक्रमण मानिएमा टर्की फुटबल अनुशासन नियमावलीको धारा ४४ ले मोरिन्होलाई पाँच देखि १० खेलको लागि प्रतिबन्ध लगाउन सकिने व्यवस्था गरेको छ ।
