नेपालमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज (बुधबार) हुँदैछ । प्रतियोगिताको फाइनलमा घरेलु टोली नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र म्यानमारबीचको फाइनल खेल आज साँझ ६ बजे शुरु हुनेछ । उपाधि भिडन्त अघि मंगलबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका थिए।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले लिग चरणका तीन खेल राम्रो भएको र अब फाइनलमा पनि आफ्नो टोली राम्रो प्रदर्शन गर्ने गरि तयार भएको बताएका थिए ।
यस्तै नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि अहिलेसम्म सबैले राम्रो खेलेको र आज उपाधिकै लागि भिड्ने बताएकी थिइन् । अहिलेसम्म नेपाल सिल्भर मेडलमै सिमित भएको र बुधबार नेपाल गोल्डका लागि खेल्ने समेत उनले थपेकी थिइन ।
त्यस्तै पाहुना टोली म्यानमारका प्रशिक्षक र कप्तानले पनि फाइनलका लागि तयार भएको र उपाधि कै लागि भिड्ने बताएका थिए । प्रतियोगितामा चार देश सहभागि थिए।
जसमा नेपाल र म्यानमार लिग चरणका तीन खेलमा अपराजित रहँदै फाइनलमा पुग्दा लेबनान एक खेलमा जित र दुई खेलमा हार तथा किर्गिस्तान तीन खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएका थिए ।
नेपाल र म्यानमारले लिग चरणमा समान ७ अंक जोडेपनि गोल अन्तरका आधारमा म्यानमार विजेता तथा नेपाल उपविजेताको रुपमा उपाधि नजिक पुगेका हुन् । नेपालले किर्गिस्तान र लेबनानलाई समान १-० ले पराजित गर्दा म्यानमारसँग २-२ गोलको बराबरी खेलेको थियो ।
यस्तै म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले हराएको थियो । नेपाल र म्यानमारबीच अहिलेसम्म चार खेलमा प्रतिस्पर्धा भएको छ ।
जसमा म्यानमार दुई खेलमा विजयी हुँदा दुई खेल बराबरीमा सकिएको थियो । अब नेपाललाई भोलि म्यानमारविरुद्ध पहिलो जित निकाल्दै उपाधि जित्ने मौका समेत रहेको छ ।
