स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले रोमाञ्चक बराबरी खेलेका छन् ।
मंगलवार राति भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिडले ४-४ गोलको बराबरी खेलेका हुन् ।
बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोरेन्टे र अलेक्जेन्डर सोर्लोथले गोल गरे ।
बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे ।
खेलको पहिलो मिनेटमै अल्भारेजको गोलमार्फत एटलेटिकोले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै ग्रिजम्यानले टोलीको अग्रता दोब्बर बनाए ।
तर, बार्सिलोनाका लागि १९औं मिनेटमा पेड्रो र २१औं मिनेटमा क्युबार्सीले बराबरी गोल फर्काए । ४१औं मिनेटमा मार्टिनेजले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३-२ को अग्रता लियो ।
७४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ४-२ को अग्रता दिलाए । तर, ८४औं मिनेटमा लोरेन्टे र खेलको इन्जुरी समयमा अलेक्जेन्डरले गोल गरेपछि खेल ४-४ गोलको रोमाञ्चक बराबरीमा सकिएको हो ।
अब दोस्रो लेग एट्लेटिकको घरेलु मैदान मेट्रोपोलिटानोमा हुनेछ । कोपा डेल रे को दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राति रियल मड्रिड र रियल सोसिडाड भिड्दैछन् ।
