दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर ७ फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ५ लाई १-० गोलले स्तब्ध बनाउँदै वडा नम्बर ७ उपाधि नजिक पुगेको हो ।

वडा नम्बर ७ को जितमा अंकित चौधरीले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच पनि अंकित नै घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे ।

अब वडा नम्बर ७ ले उपाधिका लागि वडा नम्बर १० सँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।
