काठमाडौं माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा काठमाडौंले पोखरा लेकर्सलाई ४३-४२ ले पराजित गरेको हो ।

काठमाडौंले खेलको सुरुआतदेखि नै अग्रता लिएको थियो । तर, एक समय पोखरा कमब्याक गर्दै ६-८ को स्थितिमा फर्कियो । तर, काठमाडौंका कप्तान तथा घनश्याम रोक्कामगरले सुपर ट्याकल गरेसँगै पोखरासँग काठमाडौंले अग्रता दोब्बर बनायो ।

पोखरा खेलको १०औं मिनेट नबित्दै अलआउट भएको थियो । पहिलो हाफमै पोखरा दुईपल्ट अलआउट हुन पुग्यो। योसँगै काठमाडौं पहिलो हाफमा १४-२५ को फराकिलो अग्रता लिन सफल भयो ।

दोस्रो हाफको मध्यतिर भने पोखरा खेलमा पुनरागमन गर्यो। खेल सकिन अन्तिम ६ मिनेट बाँकी रहँदा पोखरा ३२-३६ को स्थितिमा आइपुग्यो । सोही समय कप्तान घनश्यामलाई पोखराले सहजै रोक्यो । लगत्तै पोखराका रोहन श्रेष्ठले आफ्नो रेडमा तीन जनालाई आउट गर्दै खेल ३६-३६ को स्थितिमा ल्याए ।

त्यसपछि पोखराले काठमाडौंमाथि निरन्तर दबाबमा राख्दै खेल ४०-३८ को स्थितिमा ल्यायो । यद्यपि, घनश्यामले आफ्नो अनुभव कोर्टमा खन्याउँदै अन्तिम दुई मिनेट बाँकी रहँदा तीन खेलाडीलाई रेडमा आउट गर्दै काठमाडौंलाई पुनरागमन गराए ।

जितसँगै काठमाडौंले पाँच अंक जोडेको छ । हारका बावजुद पोखराले एक अंक प्राप्त गरेको छ । सात अंकभन्दा कम अन्तरको हार बेहोरेका कारण पोखराले एक अंक हासिल गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *